कुलेखानी ईन्द्रसरोबर ताल

Tuesday, October 26, 2010

अस्थिर राजनीतिः बेरोजगारको कारक



हरेक वर्ष कम्तीमा पनि ४ लाख युवा रोजगारीका लागि तयार हुन्छन् । ती युवा श्रमशक्तिको सही सदुपयोग हुन नसक्दा हरेक दिन बिदेसिनेको जमात बढिरहेको छ भने अर्कातिर अनैतिक र अराजक गतिविधि बढिरहेको छ । नेपालबाट प्रतिदिन लगभग ७ सयको हाराहारीमा नेपाली युवाहरू विदेशतर्फ लागिरहेका छन् । यसरी विदेश जानेहरूमध्ये औंलामा गन्न सक्ने मात्राले मात्र राम्रो अवसर पाएका छन् । हालै पनि अमेरिकाका लागि डिभी भर्नेको भीड र कोरिया जान लागेको भीडले नेपालमा बेरोजगारी समस्या कस्तो छ भन्ने कुरा इंगित गर्छ ।
प्रत्येक गाउँमा युवाहरूको उपस्थित न्यून छ । गाउँमा बसेका युवाहरू पनि क्यारेम र तासमा व्यस्त देखिन्छन् । तिनीहरूलाई सही बाटो पहिल्याउन सकिएको छैन । एक छाक नाना र चाचाको बन्दोबस्तका लागि बिदेसिनुपर्ने नेपालीहरूको इतिहास पुरानो छ । न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिकै लागि आफ्नो सर्वस्व साहूकहाँ धितो राखेर बिदेसिनुपर्ने बाध्यता छ । बाध्यतावश गाँस, बासको व्यवस्था गर्ने धोको बोकेर उडेका उनीहरू बीचमा दलालको चरम शोषणमा पर्छन् । यति मात्र नभएर गैरकानुनी रूपमा समेत पठाएर ठग्ने गरिन्छ । उनीहरूलाई ठग्ने क्रम स्थानीय साहूदेखि विदेशको आफन्त र कम्पनीसमेत रहेका हुन्छन् ।
देशभित्र भएका प्राकृतिक स्रोत–साधनको उच्चतम उपयोग हुन नसक्नु र भएका उद्योग–कलकारखानाहरू क्रमशः धराशायी बन्दै जानु पनि बेराजगारीको प्रमुख कारण हो भने अर्कातर्फ बढ्दै गएको जनसंख्या र राजनीतिक अस्थिरताले आर्थीक विकासमा चुनौती थपिदिएको छ । अर्काे कुरा, सरकारले स्पष्ट औद्योगिक नीति ल्याउन नसक्दा औद्योगिक संरचनाहरू बिस्तारै हराउँदैछ, जसका कारण बेरोजगारी बढाएको छ । जल, जमिन, जटिबुडीको राम्रो सदुपयोग गर्ने नीति ल्याउने हो भने बेरोजगारी मात्र घट्ने होइन, समग्र मुलुकको आर्थिक स्थितिसमेत सकारात्मक हुने निश्चित छ ।
जातीय तथा दलीय स्वार्थका लागि खुलेका विभिन्न संगठनको चन्दा नीति र बन्द तालिकाले रोजगारी क्षेत्रमा नकारात्मक असर परेको छ । बेरोजगारीका कारण खाडीमा जानु मात्र परेको छैन, दिनदहाडै सामाजिक अपराध पनि बढिरहेका छन् । सामान्य गोजी चोर र छलकपटको कुरै छाडौं, दिउँसै करोडौंको बैंक फोर्नेहरूलाई समेत कारबाही हुन सकेको छैन । विदेश पठाइदिने नाममा लाखौं रुपैयाँ बुझाएर मात्र पुग्दैन, त्यहाँको शारीरिक तथा मानसिक शोषण झेल्नुपरिरहेको छ ।
रोजगारीकै नाममा खाली मुलुकमा कैयौ दिदीबहिनीले नारकीय व्यवहार भोग्नुपरिरहेको छ । कोही चर्काे घाम र कार्यचापका कारण कोठामा सुतेको सुत्यै भएको घटना बढ्न थालेको छ । अज्ञानता र अशिक्षितका कारण कैयौं दाजुभाइले सडक दुर्घटनामा परेर ज्यान त्याग्नुपरिरहेका छन् भने फितलो नियम भएको मुलुक नेपालमा जन्मेका हामी नेपाली सानातिना तलमाथि गरेकै कारण जेलजीवन बिताउन बाध्य हुनुपरेको छ ।
यी र यस्तै अनेक दुःख भोग्नुपर्नाका प्रमुख कारण नेपाली राजनीतिमा कालो बादल लाग्नु नै हो भन्ने कुरामा दुईमत छैन । वीर गोर्खालीका नामले परिचित नेपाली युवाहरू यतिखेर पशुत्वको व्यवहार भोग्न विवश छन । यदि यी श्रमशक्तिलाई नेपाली माटोमा जिउने अवसर दिने हो भने स्वीजरल्यान्ड घुम्ने सपना होइन, यहीँ बनाउन सकिन्छ, जसका लागि प्रथमतः राजनीतिक अवस्था सुध्रनुपर्छ । 
published in Karobar daily at 2067/7/10

थोरैलाई दसैँ धेरैलाई दशा !

Font size: Decrease font Enlarge font
image


महान् चाड दसैँ भर्खरै सकियो । सर्वसाधारणले आ-आफ्नो हैसियतअनुसार घर-आँगन रंग्याए । ठुल्ठूला व्यापारिक मलले भारी छुटका ब्यानर
झुन्ड्याएर ग्राहक आफूतिर ताने । सहरबजारमा किनमेल गर्नेको घुइँचो लाग्यो । राजधानी नै रित्याएर घर गएका यात्रुहरू फर्किरहेका छन् । फेरि राजधानीमा मान्छेको भीड बढ्दै गएको छ ।
असत्यमाथि सत्यको विजयस्वरूप मनाइने दसैँ अधिकांशका लागि दशा बनेर भित्रिने गरेको छ । हुनेखाने र कालाबजारियाका लागि दसैँ तामझामसाथ आयो । तर, दसैँको आगमनसँगै मुगु, हुम्ला, बाजुरा, जाजरकोट आदि जिल्लामा फैलिएको भोकमरीले यस वर्षको दसैँ निकै खल्लो साबित भयो । मिडियामा भोकमरीका समाचार आइरहँदासमेत सम्बन्धित निकायले यसतर्फ ध्यान दिएको देखिँदैन ।
नेपालीमा एउटा उखान छ— 'आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई । आफ्नो गच्छेभन्दा बढी होडबाजीमा लागेर कुनै पनि चाडपर्व मनाउनु हुँदैन । तर, आफ्नो औकातभन्दा माथि उठेर चाडपर्व मनाउनाले नै माथिको उखान सार्थक बनेको छ यो वर्ष पनि ।
दसैँसँगै चाडपर्वको मौसम सुरु भएको छ । लगातार आउने दसैँ, तिहार, छठलगायतका पर्वले हुँदा खाने वर्गलाई सताउनु सताउने निश्चित छ । तर, चर्को अभाव र महँगीले हुनेखानेलाई समेत प्रभाव पार्ने अवस्था छ । अर्काे कुरा सुरक्षाका दृष्टिकोणले हेर्दा पनि चाडबाडमा समस्या बढ्ने देखिन्छ । भर्खरै सकिएको दसैँमा चोरी र ठगीका घटना निकै बढे । हामीले धार्मिक दसैँ मनाइरहँदा चोरहरू भने मस्तीको दसैँ मान्न तल्लीन थिए होला । चाडबाडको समयमा विभिन्न बहानामा जबर्जस्ती चिठ्ठा भिडाउने चलन पनि फस्टाइरहेको देखिन्छ । उपहार योजना ल्याएर उपभोक्तालाई भुलाउनु चाडपर्वका नाममा भित्रिएको विकृति हो । ५० रुपैयाँको चिठ्ठामा मोटरबाइक राखेर आशा देखाएपछि नलोभिने कुरै भएन । अन्ततः यो लोभले लाभ, लाभले विलापसिवाय केही होइन । यसको नतिजा सार्वजनिक गर्दा कत्तिको पारदर्शिता अपनाइन्छ भन्ने कुरामा भने कसैले वास्ता गरेको पाइँदैन । प्रत्येक वर्षझैँ सुरक्षा निकायले चिठ्ठाका नाममा ठगी गर्नेलाई कारबाही गर्ने जानकारी त दिएको थियो, तर कसैलाई कारबाही गरिएको जानकारी भने पाइएको छैन । त्यस्ता चिठ्ठा कार्यक्रमभन्दा कुनै सांगीतिक कार्यक्रम गरेको भए बरु ठीक हुने थियो ।
अर्काे विकृति भनेको तास, जुवा र पेय पदार्थको बढ्दो प्रयोग हो । गत वर्ष मात्रै एक ठाउँमा जुवामा सबै सम्पत्ति हारेपछि आफ्नी छोरीलाई समेत जुवाको खालमा थापेको समाचार बाहिर आएको थियो । कथाजस्तो लाग्ने यो घटना जुवाको लतको नतिजा हो । वर्ष दिनभरि कमाएको पैसा दसैँमा एक्लैले यसरी तास र जुवामा उडाउँदा परिवारको के हालत होला ? टीकाको दिन साइत जुराउन पनि जुवा खेल्नुपर्छ भन्ने अन्धविश्वास नेपालीमा छ । 'ओल्ड इज गोल्ड' भन्ने कुरा सबैमा लागू हँुदैन, त्यसैले पुराना कथनलाई पनि सही रूपमा मात्र उपयोगमा ल्याउनु जरुरी छ । अर्काे बाध्यात्मक विकृति भनेको यातायातको हो । यस वर्ष पनि राजधानीबाट बाहिरिने सवारी साधनको टिकट अगि्रम बुकिङ खुला गरेको जनाइए पनि खुलेको तीन/चार दिनमै टिकट सकिएको बताएर आमयात्रुलाई कालोबजारमा टिकट भिडाउने खेल खेलियो । आखिर यस खेलमा रमिते बन्नबाहेक केही गर्न सकिएन । एउटै सिटका लागि धेरै टिकट बेचेर कुस्त रकम कुम्ल्याउनेको जमात पनि निकै देखियो यहाँ । टिकट नपाउने र वर्षदिनको दसैँमा घर नगई नहुने बाध्यताले गर्दा हुटमा बसेर जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपर्‍यो यो वर्ष पनि । यसरी हुटमा बसेर यात्रा गर्दा दुर्घटना हुने सम्भावना धेरै हुन्छ । तैपनि, यात्रा नगरी सुखै भएन । त्यसैले, सम्बन्धित निकायले यसतर्फ ध्यान दिएर यातायातका साधनको थप व्यवस्था गर्ने हो भने यो समस्याबाट मुक्ति मिल्थ्यो होला । अर्काे कुरा चाडपर्व मान्ने नाममा चिल्लो-पिरो खाने र अधिक रक्सी तथा मासु सेवन गर्नाले हाम्रो स्वास्थ्यमा ठूलो असर परिरहेको हुन्छ । त्यसैले प्रत्येक चाडपर्वमा आफ्नो स्वास्थ्यस्थितिलाई हेरेर मात्र खानपान गर्नु जरुरी छ ।
अहिले धार्मिक दसैँ सेलाए पनि राजनीतिक दसैँको माहोल भने निकै तातेको छ । कामचलाउ सरकारका भरमा मुलुक लथालिंग भइरहँदा पनि सबै आ-आफ्नै धुनमा व्यस्त छन् ।
रामजी बलामी, मकवानपुर
published in 2067/7/10 in Nayapatrika daily.