गाईजात्रे राजनीतिमा कछुवाको गति
एउटा कछुवालाई बल्खु, कोटेश्वर वा सानेपा जहाँ राखे पनि सिंहदरबार पुग्ने वेला भइसक्यो, तर चिल्ला गाडीमा विनाजाम हुइँकिने नेताहरू भने अझै पुग्न नसकेको देख्दा अचम्म लाग्छ । कतै बाटामा कसैले अपहरण गर्न लागेका त होइन ? हुन पनि दुई-दुईजना दूतबाट अपहरणको प्रयास नभएका होइनन् । तर, हाम्रा नेताजन उक्त अपहरण प्रयासबाट मुक्त हुन सफल भए । तर के गर्नु, केही निकास निस्केको होइन क्यार !
प्रधानमन्त्री माधवकुमार नेपालले सहमतीय सरकारका लागि भनेर राजीनामा दिएको पनि दुई महिना नाघ्यो । राजीनामाको पाँच मिनेटमै सहमतीय सरकार बन्छ भनेर प्रचण्डले गरेको भाषणको जवाफ अहिलेको परिस्थितिले गहकिलो रूपमै देखाएको छ । आफ्नै दलभित्र सहमति बन्न नसकिरहेको अवस्थामा सबै दलहरू मिलेर सहमतीय सरकार बनाउँछु भन्नु आँखामा छारो हाल्ने बहानासिवाय केही पनि होइन भन्ने कुरा पनि वर्तमान परिस्थितिले राम्रै चित्रण गरिसकेको छ । दुईपटकको सहमतीय र सातपटकको बहुमतीय प्रयास पनि विफल भएपछि थप निर्धारित समयमै संविधान बन्ला भनेर सोच्नु अब मूर्खतामात्र हुने पक्का छ । नेकपा एमालेभित्र चर्किएको आन्तरिक समस्याका कारण एमाले तटस्थ बस्नुपरेको तथा मधेसी दलहरूले मौकामा हीरा फोर्ने दाउ खोजिरहेकाले नै मुलुक यतिखेर नेतृत्वविहीन बन्नुपरेको हो ।
नेपाली राजनीतिक दलहरूमा देखिएको व्यक्तिवादी तथा पार्टीगत स्वार्थकै कारण आज मुलुकमा राजनीतिक गाईजात्रा प्रस्तुत भइरहेको छ । मन्त्रिमण्डल गठन गर्नै महिनौँ समय लगाउने दलहरूले अझै प्रधानमन्त्रीसमेत नबनेको अवस्थामा खै कसरी जनताले विश्वास गरून् कि अब समयमै संविधान बन्छ भनेर ? दुई-तिहाई बहुमतको पासोमा परेका एमाले अध्यक्ष पुनः सहमतीय सरकारका पक्षमा तल्लीन भएको देख्दा प्रचण्डकै हालत हुने त होइन भन्न्ो शंका लाग्न थालिसकेको छ । अर्काे कुरा विगतको संविधान नै संशोधन गरी प्रधानमन्त्री चयन गर्ने कुरा उठेको छ, तर यसले पनि दिगो निकास ल्याउला भन्न्ा सकिन्न । जनआवाजले बाबुराम भट्टराईको जयजयकार गाए पनि अध्यक्ष प्रचण्डको प्रधानमन्त्री मोहका कारण त्यो सफल हुन सकेन र प्रचण्ड प्रधानमन्त्रीको दौडमा व्यस्त रहँदा बाबुराम भट्टराई भने क्रान्तिका पुस्तक पढ्न व्यस्त रहे ।
यसरी एक-अर्कामा दोषारोपण गर्दै सत्तास्वाद चाख्नैका लागि तल्लीन भएकाले नै आज मुलुकमा अशान्तिले आश्रय पाएको छ । आपसी विवादमा अल्झेको मधेसी मोर्चाभित्रको विवादका कारण माओवादीलाई समर्थन दिन नसकेको र एमाले आफ्नै नेतृत्वको सरकार बनाउन कस्सिएको तथा नेपाली कांग्रेसले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडानका कारण आज मुलुक सरकारविहीनताको अवस्था झेल्न बाध्य छ । कामचलाउ सरकारका भरमा दुई महिनादेखि देश चलिरहेको छ । विगतका राजनीतिक झमेलामा भारतले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गथ्र्यो, तर यसपटक श्यामशरण र केभी राजनको उपस्थित भए तापनि केही सीप चलेन बरु अब पुनः राजसंस्थातिर भारतको ध्यान खिचिएको कुरामा दुईमत छैन । घरभित्रको आपसी वैमनस्यका कारण बाहिरी शत्रुले फाइदा उठाउँछ भन्ने कुरा बुझ्नु आवश्यक छ । नेपाली राजनीतिक दलहरूमा देखिएको असमझदारी र मतभेदकै कारण आज भारतले नेपालीमाथि अनेक प्रकारले शोषण र दमन गरिरहेको छ । तर, नेपाली जनताको हितका लागि भन्दै राजनीति गर्ने कम्युनिस्ट नेताहरूको ध्यान उनैको जीहजुरीबाहेक अन्त कतै गएको देखिँदैन ।
वर्तमान कामचलाउ सरकारको अक्षमता र तरल राजनीतिको मौका छोप्दै कालोबजारी र अवैध धन्दाहरू प्fmस्टाउने क्रम बढ्दै गइरहेको छ । दिनहुँ हत्या, हिंसा र मारकाटको अवस्था नै अस्थिर राजनीतिको उपज हो । यसरी जनताले चरम शोषण झेलेर बस्नुपर्दा पनि पटक-पटकको निर्वाचनपछि पनि सरकार गठन हुन नसकेपछि किन अर्काे निर्वाचनको प्रक्रिया थालनी भएन ? सविधान संशोधन प्रक्रियामा कांग्रेसले साथ नदिने तथा बारम्बार यही प्रक्रियाले प्रधानमन्त्री छान्ने कांग्रेसको नीतिका कारण जनताबाटै तिरस्कृत हुने सम्भावना निकै बढेको छ । यसैले अझै पनि आलटाल गरेर जनताका आँखामा छारो हाल्नुभन्दा कमसेकम कछुवाकै चालमा भए पनि राजनीतिक दलहरू लागून्, कामना यही छ ।
रामजी बलामी, दामन, मकवानपुर