मानवता हराएको सहर
सिमसिमे झरीमा रुझ्दै एक बालिका र उनकी आमा थापाथलीको बागमती पुलमाथि दहीझैँ बगेको बागमतीको कहालीलाग्दो दृश्य अनि जामैजामले थाकेका बटुवाहरूको भीड नियालिरहेका छन् । वर्षायाममा परेको त्यस झरीमा प्वाल टालिएको छाता समात्दै बालिका र कोही दयालु हातले दिएको एउटा स्याउ टोक्दै आमा बसिरहेकी छिन् । आमाले घरि आफैँ टोक्छिन् घरी छोरीलाई टोकाउँछ यसले मातृत्व र अभिभावकत्वको भूमिका स्पष्ट देखिन्छ । साराको जन्मथलोमा जाने-आउने त्यो दोबाटोमा उनीहरूको रमिता हेर्नेको घुइँचो छ, तर विडम्बना ! एक पैसा झार्ने 'महानता' कसैको छैन । देश हाँक्ने मन्त्रीदेखि ठुल्ठूला असहाय र अशक्तको नारा गुन्जाउने अनि मानव अधिकारको खोल ओढ्नेहरूको एकोहोरो हिँडाइलाई न ती आमाले देखेका छन् न त बच्चाले नै न त, ती टाईवाला बटुवाले नै ।
सबैको बेइज्जती र घृणाको पात्र बनेका ती आमा-छोरीले नेपाली जनता सबैको प्रतिनिधित्व गरिरहेको छ भन्दा अत्युक्ति नहोला किनभने अधिकांश जनताको हालत यस्तै छ । ती आमालाई सायद दैवले नै हेला गरेको हुनुपर्छ नत्र किन अन्धोपनको उपहार दिन्थ्यो र हे निस्ठुरी दैव ! हरेक दिनजसो अति जाममा पर्ने उक्त क्षेत्रमा उपस्थित चिल्ला कार, बाइक, अनि कालो सिसाको इज्जत ती आमा-छोरीले चाखेको एक टुक्रे स्याउ र फाटेको कपडा अनि टालिएको छाताले इंगित गरिरहेको थियो ।
यसरी थोत्रा कचौराको भरमा छाक टारिरहेका आमाछोरी अनि घन्टौँका जाममा खाँदिएर हिँड्नुपर्ने अवस्था केलाउँदा लाग्छ, के नेपाल भन्ने मुलुकमा सरकार त छ ? आफू अन्धो भए पनि पालैपालो आफ्नो सन्तानका लागि स्याउ टोकाउने आमाले आफ्नो अभिभावकत्व राम्ररी बुझेको हुनुपर्छ, अनि सन्तानप्रतिको स्नेह र माया पनि । तर, चमत्कार छ यहाँ सम्पत्ति कुम्ल्याउन र आफ्नो पाखुरा फुलेर तगडा बनेपछि आफ्नै मातापिताको सिँगान, र्याल र चाउरिएको छाला देख्दा हामी घुर्की लाउन पछि पर्दैनौँ ।
ती आमाछोरीको पनि मीठो-मसिनो खाने रहर होला, विलासिताको संसारमा भुल्ने रहर होला, अनि सरर्र कालो सिसावाला गाडीमा हुइँकिने रहर पनि त हुन सक्छ, तर उनीहरूका लागि यो अभिलाषा आकाशको फल मात्रै हो जुन न त र्झछ न झार्नै सकिन्छ । तर, ती सरर्र हुइँकिनेले यस्ता कहालीलाग्दा दृश्यलाई पन्छाउँदै हुइँकिएको देख्दा भने लाजमात्र होइन घृणा नै जागिसक्यो । आशै-आशमा निराशा बन्नुपर्ने नेपालीको प्रतिनिधि पात्र ती आमाको वेदनाप्रति कसैको पनि दयालु नजर परेनन् । स्वार्थी यस संस्ाारमा बरु उनको कचौरा नै कुल्चेर हिँड्छन्, तर कसैले उनीहरूको वास्ता गर्दैनन् ।
बागमतीजस्तो पुण्यमती खोलालाई समेत घुसघास गरी ढलमती बनाउने काठमाडौंवासी र संरक्षणका नाममा डलर पचाउनेहरूप्रति घृण गरौँ कि सम्मान ? अनि त्यो घृणा जनतालाई दिने कि सरकारका नाममा लुट मच्चाउनेलाई दिने ? सत्ताकै लागि मरिमेट्ने, चिल्ला गाडीमा सवार नेता तथा मन्त्री भनेपछि स-सम्मान उभिएर घन्टौँ जाममा बसी-बसी सम्मान दर्साउनुपर्ने तर उनीहरू सरर्र हिँड्न पाएपछि जाममा परेर जोसुकै मरोस् केही मतलव छैन । अदृश्य गतिमा हुइँकिने ती काला सिसावाल गाडीले यी आमालाई कसरी देख्लान् र खै ?
ती आमाको बाहिरबाट देखिने घाँटीमा लागेको मैलो र फाटेको वषर्ाैं पुरानो म्याक्सीले आधुनिकताका नाममा फस्टाएको स्कर्ट र शृंगारलाई व्यंग्य गरेको छ । अनि त्यो खाली कचौराले पाँचतारे होटलको मस्तीलाई व्यंग्य गरेको छ । अनि व्यंग्य गरेको छ, असहाय र अशक्तका नाममा चाङका चाङ रिपोर्ट बनाएर मोटो रकम कुम्ल्याउनेलाई । अनि एकजोर चप्पल लगाएका, गाउँले झोला भिरेकाले ती कचौरामा फालेका सिक्काले सँगै हिँडेका टाईवालाहरूलाई व्यंग्य गरेको छ । कथा, व्यथा र संघर्षको यात्रा नै जिन्दगी हो । सानालाई माया-दया देखाउनु र ठूलालाई सम्मान दर्साउनु मानवताको गुण भनेर सानैदेखि गुरुले सिकाएकै हुन् । तर, ठूलालाई चाकडीपनमा लिप्त भई सानालाई भुसुनाको व्यवहार देखाउनु क्रूर मानवताको परिचायक हो ।
शिलापत्रमा नाम लेखाउने भन्दै करोडौँ खर्चिने हातहरूले केही रुपैयाँ मात्र ती कचौरामा खसालिदिए कमसेकम छाक त टथ्र्याे नि तिनको । अनि आफूलाई मन नपर्ने झुत्रा नै सही, कपडा यस्ता आमालाई दिए एक रात त मज्जाले सुत्थे नि । भाषण र देखावटीमा अनेक सपना बुन्दै सानालाई ऐन ठूलालाई चैनको भावना बोकेकाहरूप्रति के भनौँ र खोइ ?
रामजी बलामी, मकवानपुर
rbalami2008@gmail.com

