(रामजी बलामी),
भालेको लडाइँ बन्यो प्रमको निर्वाचन !
हामीलाई थाहा छ- गोरुको नेतृत्व छान्न सिंगे
हामीलाई थाहा छ- गोरुको नेतृत्व छान्न सिंगे
लडाइँ गर्छन् जसले जित्छ उसैको पछि लागेर अन्य गाईगोरुहरु जान्छन्। भेडाबाख्राको त झन् नेताले जहाँ लग्यो उतै लाइन लागेर जान्छन्। यिनीहरुमा नेतृत्व चयनका लागि केही लडाइँ चले पनि त्यही भीषण युद्ध नै भने हुँदैन तर पक्षीजगत्मा भने अलि फरक देखिन्छ। यसभित्र पर्ने कुखुराको नेतृत्वका लागि आफ्नो ज्यानै जाने अवस्थासम्म लड्ने गर्दछ। जबसम्म जित्दैन तबसम्म बारम्बार रगतै रगत हुने गरी लडिरहन्छन्। अन्त्यमा जित हुनेले लामो समयसम्म त्यो क्षेत्रमा कब्जा जमाउँछन्। त्यो भालेले फुल पार्न बसेका कुखुरीलाई जिस्क्याउने मात्र होइन अरुलाई समेत नजिक पर्न दिँदैन र अरु पनि उसलाई देखेपछि टाउको निहुँराउँदै जी हजुरी गर्न थाल्छन्। हार्ने भालेको भने जिउने आश नै हुँदैन र रगतले लिपेको त्यो शरीर देखेर घरधनी आफैंले काटेर खाइदिन्छ।
हामीले देखेका र भोगेको यी कुरा अहिले यहाँ प्रधानमन्त्री चयनको क्रममा देखिएको परिस्थितिसँग प्रत्यक्ष सरोकार राख्छन्।हाम्रा नेताहरुले न गाईगोरुको जसरी प्रम छान्न सके न त भेडाबाख्राको जसरी नै। चौथो पटकसम्म पनि भाले लडाइँजस्तै लडिरहेका छन् र अझै लडिरहने कुरा बताइरहेका छन्। जसको कारण देश आज अनिर्णयको बन्दी बनिरहेको छ।भाले लडाइँले कस्तो परिणाम ल्याउँछ भन्ने कुरा माथिको कुराले नै पुष्टि भइसकेको छ। जित्नेले अरुलाई नजिकै नराख्ने र हार्नेको ज्यानै जाने यो खालको व्यहार अहिले देखिरहेको अवस्था छ। गाईगोरु र भेडाबाख्राको जसरी नेता छान्न तम्सिएका भए न देश आज यो अवस्थामा आउनुपर्थ्र्यो न त पार्टीहरुबीचको चर्को मनमुटाव नै तर भालेको जस्तो लडाइँ गरिरहँदा न नेपाली जनताले शान्ति पाए न त नेताहरुले नै सत्ता पाए।
सहमति र सहकार्यको नाममा कुप्रचार गर्दै माधव नेपाल नेतृत्व सरकारको राजीनामा गराउनु चौथो पटकसमेत प्रधानमन्त्री छान्न असफल हुनु र पाँचौं पटक पनि त्यही नियतको लक्षण देखाउनु तथा बारम्बार छिमेकीको नाममा भारतीयहरु प्रवेश भइरहनुले अब नेपाल कुन दिशातर्फ लागिरहेको छ भन्ने कुरा स्पष्ट छ। पार्टीभित्रै असहमतिको आँधी आइरहँदा पनि दलहरुबीचको सहमतीय सरकार देख्नु सपनासिवाय केही थिएन। सहमति शब्दकै अपमान हुने गरी जति पनि व्याख्या-विश्लेषण भयो सबै व्यक्तिवादी सोचकै कारण भयो। दलगत निर्णयलाई समेत पछार्दै मनपरीतन्त्र जपेर प्रधानमन्त्री पदका लागि हानथाप गर्नु लज्जास्पद कुरा हो। राजनीतिमा लछार्ने र पछार्ने त सफलताको प्रतिक नै हो तर अरुलाई पछार्दा आफू सुरक्षित हुनु आवश्यक छ। एमालेजस्तो पार्टीले तटस्थताको मन्त्र जप्नु मोर्चाको नाममा मौकाको फाइदा उठाउने नीति अपनाउनु माओवादीमा प्रचन्डको जिद्दीपन र कांग्रेसको अडिगका कारण आज प्रम चुन्न नसकिएको हो।
श्यामशरणले नेपाली विमानस्थलमा टेक्नेबित्तिकै सरकार गठनमा सहयोग गर्न आएको भन्ने अभिव्यक्ति दिनुले नेपाली राजनीतिमाथि दिल्लीको छाप कस्तो छ भन्ने कुरा छर्लड्डै भइसकेको छ। श्यामशरणले दिएको शरण नेपाली दलहरुलाई अमान्य भएकै कारण पुनः नियमित गाईजात्रा प्रस्तुत हुँदै छ भदौ २ गते। सबै दल आ-आफ्नै मागमा तटस्थ बस्ने हो भने कुनै पनि हालतमा सरकार बन्न नसक्ने कुरामा दुईमत छैन। एमाले अध्यक्ष झलनाथले पुनः सहमतिको नारा घन्काइरहेका छन् तर त्यो पनि अघिल्लो नारा प्रचण्डको जस्तै खेर नजाला भन्न सकिन्न। मुलुकलाई क्यारेमको गोटी सम्झेर बसेका यी नेताहरुका अगाडि हाम्रो यो दुई शब्द काग कराउँदै पिना सुक्दैको उखानबाहेक केही पनि होइन।
बैठक र स्थानपिच्छे अनेक कुरा बताउँदै पत्रकारहरुबीच नै वैमनस्यता कायम गराउने काम पनि हाम्रा नेताहरुले गरिरहेका छन्। पायो भन्दैमा जे पनि प्वाक्क बोल्ने र बोलेको कुरालाई बेवास्ता गर्ने नेताजन अब बोलेर मात्र केही नहुँदोरहेछ त्यसैले तटस्थताको नीति त्यागेर छिट्टै सरकार गठनमा लागून् यही छ कामना !